काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) नारायणदत्त पौडेलले राष्ट्रको सुरक्षामा समर्पित जीवन कहिल्यै अवकाश नहुने बताएका छन् ।
आईजी अर्यालको विदाई र नवनियुक्त आईजी पौडेलको स्वागतका निम्ति सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा शुक्रबार आयोजित विशेष समारोहलाई सम्बोधनका क्रममा उनले राष्ट्रको सुरक्षामा समर्पित जीवन कहिल्यै अवकाश नहुने भन्दै यो केवल एउटा अध्यायको समाप्ति र अर्को जिम्मेवार यात्राको सुरूवात भएको बताएका हुन् ।
पौडेलले सेवा निवृत्त हुन लागेका आईजी अर्याललाई आगामी जीवन सुखद, स्वस्थ, सम्मानित र सफलताको शुभकामनासहित उनको अनुभव, मार्गदर्शन र दृष्टिकोण आगामी दिनहरूमा पनि सङ्गठन लागि मार्गनिर्देशन बनिरहने विश्वास व्यक्त गरे । सङ्गठनमा स्थापित मूल्य, मान्यता र परम्परालाई अझ सुदृढ गर्दै सशस्त्र प्रहरी बल नेपाललाई आधुनिक, सक्षम, व्यावसायिक र जनउत्तरदायी सङ्गठनको रुपमा निरन्तर अघि बढाउने उनको भनाइ छ ।
सङ्गठन विकास, सुदृढीकरण र संस्थागत सबलीकरणका लागि अघि सारिएका सुशासन, पारदर्शिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिलाई दीर्घकालीन मार्गदर्शनका रुपमा स्थापित गरी थप परिस्कृत र शुद्धीकरण गर्दै लैजाने समेत उनले बताएका छन् ।
सङ्गठनलाई राज्य र जनताप्रति विश्वास योग्य बनाउन सशस्त्र प्रहरी कर्मचारीहरुको योगदान महत्वपूर्ण हुने चर्चा गर्दै नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले भने, ‘उच्च नैतिक आचरण र दृढताले एउटा सशक्त सन्देश दिन्छ, जहाँ आचरण शुद्ध हुन्छ त्यहाँ निर्णय स्पष्ट हुन्छ, जहाँ मन दृढ हुन्छ त्यहाँ नेतृत्व विश्वसनीय हुन्छ ।’