काठमाडौं । सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा सङ्गठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई जीवनको महत्वपूर्ण उपलब्धी तथा गौरव महशुस गरेको बताएका छन् ।
आईजी अर्यालको विदाई र नवनियुक्त आईजी नारायणदत्त पौडेलको स्वागतका निम्ति सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आज शुक्रबार आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सो कुरा बताएका हुन् ।
सङ्गठनलाई परिवारको रुपमा लिइ अनुशासन, त्याग, इमान्दारिता र नेतृत्वको साँचो अर्थ सिक्ने मौका मिलेको चर्चा गर्दै उनले सङ्गठन सुधार केवल एक प्रमुखको कार्यकालमा सुरू भएर अर्को प्रमुखको कार्यकालमा सकिने विषय नभई निरन्तर चलिरहने प्रक्रिया भएको बताए । महानिरीक्षक अर्यालले आफू सङ्गठनको विभिन्न जिम्मेवारी र नेतृत्व तहमा रहँदा राष्ट्र, सङ्गठन र जनताको सुरक्षासँगै मातहत सशस्त्र प्रहरी कर्मचारीहरुको हितलाई सर्वोपरी राखी काम गरेको उल्लेख गरे ।
उनले सशस्त्र प्रहरी बल नेपालको बर्दीले सज्जनलाई भर र अपराधीलाई डरको प्रतिकको रुपमा विकास गर्दै लैजानुपर्ने बताउँदै आफ्नो सेवाकालको दौरानमा साथ, सहयोग र ऊर्जा दिने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।
महानिरीक्षक अर्याल ३० वर्षे सेवा अवधि पूरा गरी आज शुक्रबार राति १२ बजेदेखि अवकाश हुँदैछन् । कार्यक्रममा सेवानिवृत्त भई जान लागेका अर्याललाई फौजी परम्परा अनुसार स–सम्मान बिदाई गरिएको थियो । उनलाई नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले मायाको चिनो प्रदान गरी बिदाई गरे ।
-(1)-1777655967.JPG)
यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याललाई संघकी उपाध्यक्ष श्रीमती सावित्रा कुमारी पौडेलले फुलमालासहित हार्दिक बिदाई गरिन् ।
सोही अवसरमा महानिरीक्षक अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई सङ्गठन प्रमुखको छडी र सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गरे भने सङ्गठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ समेत गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सक्षिंप्त जीवनी तथा विशेष योगदानको बायोग्राफी समेत प्रदर्शन गरिएको उक्त समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थिती थियो ।