काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धितोपत्र ऐनविपरीतको कसुर गरेको भन्दै हिमालयन रि–इन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छालाई पक्राउ गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) पूर्व अध्यक्ष समेत रहेका गोल्छालाई आज बिहीबार काठमाडौंको नक्सालबाट नियन्त्रणमा लिइएको ब्युरोका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिव कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार काठमाडौं जिल्ला अदालत बबरमहलबाट पक्राउ अनुमति लिई गोल्छालाई अनुसन्धानको दायरामा ल्याइएको हो ।
पक्राउ परेका गोल्छामाथि नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा धितोपत्रसम्बन्धी ऐनविपरीतका कार्यहरूमा मिलेमतो गरेको आरोप छ । ब्युरोका अनुसार उनीमाथि धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५ र ९६ आकर्षित हुने छ, जुन दफाहरू भित्री कारोबार (इनसाइडर ट्रेडिङ), झुट्टा कारोबार र बजारलाई प्रभावित पार्ने कार्यसँग सम्बन्धित छ ।
धितोपत्र बोर्डको प्रतिवेदनमा उल्लेखित कसुरमा थप अनुसन्धान र कारबाहीका लागि बोर्डले नै सीआईबीलाई सिफारिस गरेको थियो । सोही बमोजिम ऐनको दफा १०३ को उपदफा (३) को प्रावधान अनुसार उनीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।
प्रहरीले गोल्छालाई हिरासतमा राखी यस प्रकरणमा अन्य व्यक्तिको संलग्नता र वित्तीय अनियमितताको गहिराइबारे सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
उनीमाथि सम्पत्ति सुद्धीकरण विभागले समेत छुट्टै अनुसन्धान गर्ने बताइएको छ ।