काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दिपक खड्कालाई रिहा नगरे प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ र गृहमन्त्री सुधन गुरूङमाथि गोली हान्ने धम्की आएको छ ।
बझाङको थलरा गाउँपालिका–४ यमलका सानुभाई भनिने साजन बिष्टले यस्तो धम्की दिएका हुन् । केही समयअघि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धम्की दिएका उनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
उनले फेसबुकमा ‘सानू भाई’ नामको एकाउन्ट सञ्चालन गरी ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वमन्त्री दिपक खड्कालाई तुरुन्त रिहा गर अन्यथा प्रधानमन्त्री तथा गृहमन्त्रीलाई गोली हान्न टिम बाध्य हुने छ, जसका लागि एके–फोर्टी सेभेन जस्ता अत्याधुनिक ठूला हतियारहरू काठमाडौंमा भित्रिसकेको छ’ भन्ने लेखेका थिए ।
उनको सो पोस्टले सर्वसाधारण जनमानसमा त्रास फैलाउने र आफूले भनेका कुराहरू नमाने हालका प्रधाजमन्त्री र गृहमन्त्रीलाई ज्यान मार्नेसम्मको धम्की दिएका कारण उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
उनका अनुसार, हाल बिष्टलाई थप अनुसन्धान तथा आवश्यक बारबाहीका लागि साइबर ब्युरो भोटाहिटी पठाइएको छ ।
विगत पाँच वर्षदेखि भारतको बैंगलरुमा बसोबास गर्दै आएक उनी त्यहाँ विभिन्न अपराधमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।