काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरकी छोरी पालक सिंह राठौर सशस्त्र प्रहरीको सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) बनेकी छिन् ।
पालकले सशस्त्र प्रहरी बलको इन्सपेक्टरमा नाम निकालेर तालिम समेत सम्म गरी हालै दीक्षित भएकी छिन् । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थमा हिजो सोमबार आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम (सि.सं. १७) को दीक्षान्त समारोहमार्फत उनी दीक्षित भएकी हुन् ।
५६ हप्ताको लामो तालिममा तीन जना महिलासहित कूल सहभागी ४९ जना इन्सपेक्टरमध्ये पालक पनि एक थिइन् । इन्स्पेक्टरेको कठिन तामिल सम्पन्नपछिको दीक्षान्त समारोहमा बुबा एआईजी राठौर सहभागी भएका थिए । त्यस क्षणको तस्बिर उनले सामाजिक सञ्जाल फेसबुकमा राखेर छोरीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् । साथै, इमानदार भएर राष्ट्र र जनताको सेवामा समर्पित रहिरहन आशीर्वाद पनि प्रदान गरेका छन् ।

तस्बिरसँगै उनले लेखेका छन्, ‘ बधाई छ, मेरी प्रिय छोरी पालक सिंह राठौर, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा । तिम्रो मेहनतले हामीलाई अत्यन्त गर्वित बनाएको छ । तिम्रो आगामी यात्रा साहस, सम्मान, सफलता र खुसीले भरिपूर्ण होस् । यस्तै चम्किरहनू, अझ उचाइतर्फ अघि बढिरहनू । सधैं इमानदारी र निष्ठाका साथ राष्ट्र र जनताको सेवामा समर्पित रहिरहनू ।’
एआईजी सुशील सिंह राठौर अहिले एआईजीको रुपमा प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत छन् ।