भैरहवा । रुपन्देहीमा लागूऔषध नियन्त्रण अभियानका क्रममा प्रहरीमाथि आक्रमण हुँदा एक प्रहरी घाइते भएका छन् भने ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सोमबार साँझ ७ बजेको समयमा रोहिणी गाउँपालिका–४ कोटहवामा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले आकस्मिक चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा भारतबाट लुम्बिनी क्षेत्रतर्फ आउँदै गरेको यूपी ५६ एफ ९९०१ नम्बरको हिरो होन्डा मोटरसाइकललाई रोकी जाँच गर्न खोज्दा मोटरसाइकलमा सवार व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए । सो क्रममा उनीहरूले प्रहरीमाथि ढुंगा प्रहार समेत गरेका थिए ।-1775497600.jpg)
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि पनि आक्रमण जारी रहेपछि थप एक राउण्ड गोली चलाउँदा एक जना अभियुक्तको खुट्टामा गोली लागी घाइते भएका छन् । घाइतेलाई उपचारका लागि भीम अस्पताल भैरहवा पठाइएको छ र उनको अवस्था मध्यम रहेको जनाइएको छ ।
घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला महाराजगञ्ज (भारत) विष्णुपुरा बस्ने १८ वर्षीय अरुण कुमार र २० वर्षीय विजय पाण्डेय रहेका छन् ।
प्रहरीले उनीहरूबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको जनाएको छ । बरामद लागूऔषधमा फेनारगन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल, बुप्रिनोर्फिन ११०० एम्पुल गरी जम्मा ३३०० एम्पुल रहेका छन् । साथै प्रयोग गरिएको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।