काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले मानव बेचबिखन तथा तस्करीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।
व्युरोले विभिन्न मितिमा सञ्चालन गरेको कारबाहीका क्रममा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न उनीहरूलाई पक्राउ गरिएको हो ।
ब्यूरोका अनुसार सिन्धुपाल्चोकका सुकुमाया तामाङ र प्रमोद तामाङले वैदेशिक रोजगारी तथा होटलमा कामको प्रलोभन देखाएर एक महिलालाई काठमाडौंको मनमैजुस्थित खाजाघरमा जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा पक्राउ परेका हुन् । उनीहरूले सामाजिक सञ्जालमार्फत बदनाम गरिदिने धम्कीसमेत दिएको अनुसन्धानबाट खुलेको छ ।
यस्तै, झापाका राम खिलावान दास नुनियाले कम्बोडियामा राम्रो तलबको प्रलोभन देखाई एक महिलालाई अवैध रूपमा त्यहाँ पुर्याई अनलाइन ठगी (स्क्यामिङ) कम्पनीमा बन्धक बनाई दैनिक १८ घण्टासम्म काम गराएको पाइएको छ । पीडितलाई एनआरएनएको सहयोगमा उद्धार गरी नेपाल फर्काइएको प्रहरीले जनाएको छ ।
अर्का आरोपी शिवबहादुर सारुले सामाजिक सञ्जाल प्रयोग गरी ग्राहक खोज्दै एक महिलालाई विभिन्न स्थानमा पठाई रकम असुली जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोप छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो ।
त्यस्तै, बर्दियाकी सिरु थारुले ओमान पठाउने प्रलोभन देखाएर दुई महिलालाई भारत पुर्याई लामो समय होटलमा बन्धक बनाएको अवस्थामा प्क्ष्ल् क्ष्लमष्ब सँगको समन्वयमा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई काठमाडौँ जिल्ला अदालत बाट म्याद थप गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।