काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट पाँच जना पूर्वप्रहरी कर्मचारीले संसदीय यात्रा तय गरेका छन् ।
निर्वाचन परिणाम अनुसार नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेल, पूर्वएसएसपी बिक्रम सिंह थापा, पूर्वडीएसपी गोविन्द पन्थी, पूर्वसई शम्भु सुस्केरा (ढकाल), पूर्वप्रहरी निरीक्षक मोहम्मद फिरदोस आलम र काठमाडौं महानगरपालिकाका नगर प्रहरी पूर्वप्रमुख राजुनाथ पाण्डेले प्रतिनिधिसभा सदस्यका रूपमा संसदीय यात्रा तय गरेका हुन् । उनीहरूमध्ये आलम नेपाली कांग्रेस र अन्य पाँच जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका थिए ।
निर्वाचन आयोगका अनुसार रास्वपा उम्मेदवार विश्वराज पोखरेल ओखलढुङ्गा–१ बाट १३ हजार ९५३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत पाए । यो निर्वाचनमा सबैभन्दा कम पाँच मतान्तरले रोचक र कठिन हारजित भएको यही क्षेत्र हो ।
अर्का पूर्वप्रहरी कर्मचारी विक्रम सिंह थापा कपिलवस्तु–२ बाट २७ हजार ६३५ मतसहित विजयी बने । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्यले २१ हजार ५२७ मत पाए । यस्तै, गुल्मी–२ बाट १६ हजार ८७८ मत प्राप्त गरी पूर्वडीएसपी गोविन्द पन्थी निर्वाचित भएका छन् । उनले आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्षसमेत रहेका गोकर्ण बिष्टलाई ४९६ मतान्तरले पराजित गरे । विष्टले १६ हजार ३८२ मत प्राप्त गरेका छन् ।
यसैगरी, संसदीय यात्रा तय गर्ने अर्का पूर्वप्रहरी कर्मचारी हुन् शम्भु सुस्केरा (ढकाल) । उनले झापा–४ मा नेकपा एमालेका उम्मेदवार एलपी सावाँ लिम्बुलाई पराजित गर्दै जित हासिल गरे । ४३ हजार ६३१ मतसहित उनी विजयी हुँदा निकटतम प्रतिस्पर्धी लिम्बुले जम्मा ११ हजार ९८६ मत पाएका छन् ।
यस्तै, रौतहट–२ बाट पूर्वप्रहरी कर्मचारीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद फिरदोस आलम निर्वाचित भएका छन् । नेपाली कांग्रेसका स्वर्गीय नेता मोहम्मद अफताव आलमका छोरा पनि हुन् । २९ हजार ५२८ मत ल्याएर आलम विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपाका किरण कुमार साहले १८ हजार ४४२ मत पाए ।
यसैगरी, काठमाडौं महानगरपालिकाका नगर प्रहरी पूर्वप्रमुख राजुनाथ पाण्डेले पनि संसदीय यात्रा तय गरेका छन् । महानगरमा रहँदा महानगरप्रमुख बालेन्द्र साह ‘बालेन’ को ‘सिपाही’ बताउने उनले काठमाडौं–३ का चर्चित उम्मेदवार कुलमान घिसिङलाई पराजित गरे । १८ हजार ७५७ मतका साथ पाण्डे विजयी हुँदा निकटतम प्रतिस्पर्धी कुलमान घिसिङले ११ हजार १७१ मत पाए ।