काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा एआई सेल अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एड्भान्स्ड एनालिस सेल (एआई–एएसी) उद्घाटन गरिएको छ ।
आज सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त एआई सेल उद्घाटन गरे । सो क्रममा मन्त्री अर्यालले सेलको अवलोकन गर्नुका साथै त्यसबाट सम्पादन हुने काम, प्रयोग र उपयोगिता लगायतका विभिन्न गतिविधि बारेमा जानकारी समेत लिएका छन् ।
उद्घाटन समारोहमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायतको उपस्थिति रहेको थियो ।
वर्तमान समयमा बढ्दै गइरहेको साइबर अपराध, गलत सूचना तथा मिथ्या सूचना संगठित आपराधिक सञ्जाल, वित्तीय अपराध, सामाजिक अस्थिरता सिर्जना गर्ने डिजिटल अभियान जस्ता गतिविधिहरूले राष्ट्रिय सुरक्षा, अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रणमा थप चुनौती थपिदै गइरहेको अवस्थामा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त सेल सञ्चालनमा ल्याइएको प्रहरी हेडक्वार्टरले जानकारी दिएको छ ।
नेपाल प्रहरीले एआई सेलको प्रयोगबाट गलत तथा मिथ्या सूचना सम्प्रेषण भएको पाँचवटा घटनामा संलग्न व्यक्तिहरूलाई बाँके, कञ्चनपुर, सुनसरी, सल्यान र दाङबाट नियन्त्रणमा लिई कानूनी दायरामा ल्याइसकेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्छन्, ‘आम नागरिकले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुनु आवश्यक छ । सामाजिक सञ्जालको दुरूपयोगबाट गलत तथा मिथ्या सूचना सम्प्रेषण गर्नेलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव सक्रिय छ ।’ कानूनको पालना गरी असल नागरिकको परिचय दिन समेत उहाँले सबै आम नागरिकहरूलाई आग्रह गरे ।