काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले प्रहरीको अस्तित्व जोगाउन र प्रहरी कर्मचारीको मनोबल उकास्दैमा आफ्नो कार्यकाल सकिएको बताएका छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालमा आज बुधबार आयोजित विदाइ समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक खापुङले प्रहरी सङ्गठनको महानिरीक्षकको रूपमा देश र जनताको सुरक्षाको जिम्मेवारी बहन गर्ने अवसर पाउनु आफ्नो जीवनको सर्वश्रेष्ठ सम्मान भएको चर्चा गर्दै आफ्नो छोटो नेतृत्वकालमा सामना गर्नुपरेको राजनीतिक परिवर्तनको परिवेशमा नेपाल प्रहरीको अस्तित्व जोगाई प्रहरीको मनोबल उकास्दै साङ्गठनिक मूल्यमान्यता, भाइचारा र अपनत्वभाव कायम गर्न हरसम्भव कोसिस गरेको बताएका हुन् ।
-1762967433.JPG)
संगठनलाई भौतिक रूपले सम्पन्न र भावनात्मक हिसाबले अझै एक ढिक्का बनाई राख्न नवनियुक्त प्रहरी महानिरीक्षक र सङ्गठनका हरेक सदस्यहरूले विशेष भूमिका खेल्नुपर्ने उले बताएका छन् । नवनियुक्त प्रहरी महानिरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै खापुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको चर्चा गरे । साथै, आफ्नो कार्यकालमा उनले सङ्गठनलाई थप नयाँ उचाई दिने विश्वास महानिरीक्षक खापुङले व्यक्त गरेका छन् ।
सङ्गठनको श्रीवृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई सबै प्रहरी कर्मचारीहरूबाट रचनात्मक सहयोग हुने विश्वास व्यक्त गर्दै खापुङ्गले आफ्नो नेतृत्व कालमा सहयोग पुर्याउने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरूप्रति आभार प्रकट गरे ।
-1762967431.JPG)
सो अवसरमा खापुङ्गले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरे । साथै, नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले सेवा निवृत्त हुन लागे महानिरीक्षक खापुङ्ग तथा प्रहरी नायव महानिरीक्षकद्वय ई. फणिन्द्र बराल र सञ्जीव शर्मा दासलाई कृतज्ञताको चिनो प्रदान गरे ।
-1762967431.JPG)
समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ्गलाई समेत बिदाइ गरिएको छ । उनलाई श्रीमती नविना कार्कीले शुभकामनासहित हार्दिक बिदाइ गरिन् ।