काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले आम नागरिकले प्रहरीलाई गर्ने विश्वास नै प्रहरी सङ्गठनको ऊर्जा शक्ति र मनोबलको स्रोत भएको बताएका छन् ।
७०औँ प्रहरी दिवस २०८२ का अवसरमा आज शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरीले आफ्नो स्थापनाकालदेखि नै कानुनी राज्यको मान्यताअनुरूप जनमुखी प्रहरी सेवाको प्रवर्द्धन गर्दै आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहँदै आएको चर्चा गर्दै आम नागरिकको विश्वास नै प्रहरी सङ्गठनको ऊर्जा, शक्ति र मनोबलको स्रोत भएको बताएका हुन् ।
प्रहरी सङ्गठनप्रति आम नागरिकको विश्वास प्रहरी सङ्गठनका लागि ऊर्जा शक्ति र मनोबल समेतको स्रोत भएको चर्चा गर्दै उनले नागरिक केन्द्रित पारदर्शी, स्वच्छ, छिटो, छरितो, प्रभावकारी र सेवाग्राहीमैत्री सेवा प्रवाहबाट मात्र प्रहरीप्रतिको विश्वासमा अभिवृद्धि सम्भव रहेको हुँदा उनीहरूको गुनासो र पिरमर्का सम्बोधनमा कुनै किसिमको विलम्ब नहोस् भन्नेतर्फ सङ्गठनका सबै सदस्यहरू सजग हुनुपर्नेमा जोड दिए ।
प्रहरी महानिरीक्षक खापुङले नेपाल प्रहरी प्रतिको नागरिकको विश्वास र स्नेह प्रगाढ रहेको तथ्य नेपाल प्रहरीको भौतिक विकासमा आम जनसमुदायबाट प्राप्त भएको सहयोगले पुष्टि गरेको चर्चा गर्दै यो स्नेह, विश्वास र भरोसाको जगेर्ना गर्दै सबै प्रहरी कर्मचारीहरू नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रीत हुनुपर्ने बताए ।
साथै, प्रचलित कानुनको कार्यान्वयन तथा मानव अधिकारको संरक्षण र सम्बद्र्धनलाई उच्च प्राथमिकतामा राखी आम नागरिकका संविधानप्रदत्त हक अधिकारको संरक्षणमा सदैव सचेत रहन समेत उनले प्रहरी कर्मचारीहरूलाई निर्देशनसमेत दिएका छन् ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू एवम् प्रहरीलाई सहयोग पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरिनुका साथै विशेष बढुवा गरिएका दुईजना प्रहरी अधिकारीहलाई दर्ज्यानी चिह्न पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।
यो पनि पढ्नुहोस्–
प्रहरी महानिरीक्षक खापुङद्वारा विक र अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान
प्रहरी महानिरीक्षक खापुङद्वारा विक र अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान
आईजीपी खापुङद्वारा ‘कफी टेबल बुक’ लोकार्पण