काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापा बुधबार रातिदेखि सेवा निवृत्त भएका छन् ।
उनी सेवा निवृत्त भएसँगै आजदेखि नेपाल प्रहरीको कमाण्ड चन्द्र कुबेर खापुङले सम्हालेका छन् ।
नेपाल प्रहरीमा तीन दशक लामो अनवरत सेवापछि प्रहरी महानिरीक्षकको पदबाट सेवा निवृत्त भएका दिपक थापाले गौरवशाली सङ्गठनको सदस्य भई मातृभूमि र नागरिक सेवा गर्ने अनुपम अवसर प्राप्त गर्नु आफ्ना लागि सदा स्मरणीय र गौरवको विषय भएको बताएका छन् ।
उनले जाँदाजादै नेपाल सरकार, गृह मन्त्रालय, समस्त नेपाली नागरिक तथा नेपाल प्रहरीका सकल दर्जाप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
हार्दिक आभार तथा धन्यवाद !
तीन दशकको अनवरत सेवा पश्चात आज प्रहरी महानिरीक्षकको पदबाट सेवा निवृत्त हुँदैछु । यस गौरवशाली संगठनको सदस्य भई मातृभूमि र नागरिक सेवा गर्ने अनुपम अवसर प्राप्त गर्नु मेरा लागि सदा स्मरणीय र गौरवको विषय हो । सेवानिवृत्तिको यस अवसरमा म नेपाल सरकार, गृह मन्त्रालय, समस्त नेपाली नागरिक तथा नेपाल प्रहरीका सकल दर्जा प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
देश र नागरिक सेवाका क्रममा वीरगति प्राप्त गरेका सकल दर्जाका सहकर्मीहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै कर्तव्य पालनाका क्रममा घाइते भई उपचाररत प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना सहित घाइते तथा अमर प्रहरीका परिवारजनप्रति गहिरो सहानुभूति, सम्मान र कृतज्ञता व्यक्त गर्दछु । राष्ट्र र संगठनप्रति वहाँहरूको त्याग र समर्पण अमूल्य छ र संगठन सदा वहाँहरू प्रति ऋणी रहनेछ । नेपाल प्रहरी सङ्गठनको स्थापनाकालदेखि हालसम्म यसलाई समृद्ध बनाउने दिशामा अतुलनीय योगदान दिनु भएका सम्पूर्ण अग्रजहरूको स्मरण गर्दै यो संगठनको विकासका लागि वहाँहरूको दूरदृष्टि र लगन प्रति उच्च सम्मान व्यक्त गर्दछु ।
मैले आफ्नो प्रहरी सेवा अवधिभर नेपालको संविधान र प्रचलित कानुनले प्रदान गरेको जिम्मेवारीलाई निर्भीक व्यावसायिकताका साथ निर्वाह गरेँ । आम नागरिकमा कानुनी शासनको प्रत्याभूति दिलाउँदै, नागरिकका संविधान प्रदत्त हक र अधिकारको सम्मानलाई सदैव प्राथमिकतामा राख्दै जनअपेक्षा अनुरूपको सेवा प्रवाहमा दत्तचित्त रहेँ । छोटो समय नेतृत्वको भूमिकामा रहँदा सङ्गठनले सामना गर्नु परेका विविध सुरक्षा चुनौतीहरूको सफलतापूर्वक व्यवस्थापन गर्न प्रहरी सङ्गठनका सबै दर्जाका सदस्यहरूले देखाएको जिम्मेवारी बोध, व्यावसायिकता, समर्पण र अनुशासन प्रति म हृदयदेखि आभार प्रकट गर्दछु ।
सङ्गठनको संस्थागत विकासका लागि आन्तरिक शुद्धीकरण तथा सुदृढीकरण, प्रहरी कर्मचारीहरूको वृत्ति विकास, कल्याणकारी सेवा सुविधाहरूको विस्तार, प्रहरी कार्यमा प्रविधिको प्रयोग तथा समय सापेक्ष कानुनी तथा नीतिगत सुधारमार्फत सङ्गठनलाई थप सक्षम, आधुनिक र व्यावसायिक बनाउने दिशामा उल्लेखनीय पहलहरू सुरू भएका छन् । नेपाल प्रहरीको गरिमा, व्यावसायिकता र जन उत्तरदायित्वलाई कायम राख्न तपाइहरूले निर्वाह गर्नुभएको भूमिकाले सङ्गठनलाई आजको सम्मानित स्थानमा पुर्याएको हो । आगामी दिनहरूमा पनि यही भावना र निष्ठाका साथ सेवा प्रवाह जारी रहने विश्वास लिएको छु ।
नेपाल प्रहरीलाई देश र जनताको सेवा गर्न समर्पित, सक्षम र आधुनिक सुरक्षा निकायका रूपमा स्थापित गर्न तपाईंहरू सबैको सक्रिय योगदान निरन्तर रहनेछ भन्ने पूर्ण विश्वासका साथ, यहाँहरू सबैको सफल व्यावसायिक जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
मिति: २०८२/०५/१८ गते ।
दिपक थापा (प्रहरी महानिरीक्षक)

यो पनि पढ्नुहोस्– नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त