काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको सांगठनिक संरचनालाई परिमार्जन गरेको छ । सशस्त्र प्रहरी बलले लामो समयदेखि सांगठनिक पुनर्संरचना गर्न अनुरोध गर्दै आएकोमा ‘सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन-२०७८’ सरकारले स्वीकृत गरेको हो । सो स्वीकृत प्रतिवेदन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखाना (प्रहरी) ले १५ फागुनमा सशस्त्र प्रहरी मुख्यालयलाई पठाइसकेको छ ।
पछिल्लो सांगठनिक पुनर्संरचनाले विशेषगरी मध्यम तहका सशस्त्र प्रहरी अधिकृतको वृत्तिविकासमा ठूलो मद्दत पुग्ने देखिएको छ । लामो समयदेखि एउटै पदमा बसिरहँदा देखिएको नैराश्यता अन्त्य गर्न पनि परिमार्जित सांगठनिक संरचनाले ठूलो सघाउ पुग्नेछ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको कार्यकालको ठूलो उपलब्धीका रूपमा यसलाई लिइएको छ ।
‘सशस्त्र द्वन्द्वका बेला स्थापना भएको सशस्त्र प्रहरीमा त्यसबेला छोटोछोटो समयको फरकमा ठूलो संख्यामा इन्सपेक्टर भर्ना गरिएको थियो तर माथिल्लो तहमा दरबन्दी कम भएकाले उनीहरूको बढुवालगायत वृत्तिविकासमै ठूलो असर पर्दै आएको छ, परिमार्जित संरचनाले यसलाई केही हदसम्म सम्बोधन गर्नेछ, उनीहरूमा हौसला वृद्धि हुनेछ,’ सशस्त्र प्रहरी प्रवक्ता कामु एसएसपी कमल तिउसिनाले राजधानीसँग भने ।
सांगठनिक संरचना परिमार्जित गर्ने क्रममा सशस्त्र प्रहरी बलको कुल जनशक्ति ३७ हजार १ सय १६ बाट ६२ घटाई ३७ हजार ५४ कायम गरिएको छ । जनशक्ति घटाउने क्रममा केही पद बढाइएको र केही घटाइएको छ । यस्तै, १ सय ७४ वटा विभिन्न दरबन्दी कटौती गरिएको छ ।
परिमार्जित संरचनाअनुसार प्राविधिक समूहअन्तर्गतको स्वास्थ्य र सञ्चार तथा इन्जिनियरिङतर्फ एक-एकवटा डीआईजीको दरबन्दी थप गरिएको छ । पद समायोजनका क्रममा स्वास्थ्यतर्फ एक एसएसपी, दुई एसपी, तीन डीएसपी र २२ सईको दरबन्दी थप गरिएको छ । योसँगै स्वास्थ्यतर्फको कुल जनशक्ति २ सय ३७ कायम गरिएको छ ।
प्राविधिक समूह सञ्चारतर्फ एक डीआईजी, एक एसएसपी, तीन एसपीसहित ६ सय जना रहेको छ । समायोजनका क्रममा सञ्चारतर्फ एक एसपी र चार डीएसपी थप गरेर सो संख्या पुर्याइएको हो ।
यसैगरी, साधारण समूह कानुन उपसमूहअन्तर्गत एउटा एसएसपीको दरबन्दी थप गरिएको छ । मानवस्रोत विभागअन्तर्गतको कानुन शाखालाई कानुन महाशाखामा स्तरोन्नति गर्ने क्रममा सो महाशाखामा एक एसएसपी दरबन्दी थप गरिएको हो । कानुन उपसमूहमा अब एक एसएसपी, एक एसपी, तीन डीएसपी, ९ इन्स्पेक्टरसहित १४ जना रहनेछन् ।
यसैगरी, सरकारले साधारण समूह लेखा उपसमूहतर्फ तीन एसपी, १० डीएसपी र १० इन्सपेक्टरको दरबन्दी थप गरेको छ । योसँगै अब लेखा उपसमूहमा एक एसएसपी, ५ एसपी, १६ डीएसपी, ४० इन्सपेक्टरसहित २ सय १ जना रहनेछन् ।
साधारण समूह साधारण उपसमूहअन्तर्गत भने आईजीपी, दुई एआईजी, १६ डीआईजी, २६ एसएसपी, १ सय ४ एसपी, ३ सय ९१ डीएसपी र ९ सय २७ इन्सपेक्टरसहित ३५ हजार ९ सय ४८ जनशक्ति रहनेछ । साधारण समूह साधारण उपसमूहअन्तर्गत समायोजनका क्रममा १६ एसपी र ३७ डीएसपी थप गरिएको छ ।
समायोजन गर्ने क्रममा १ सय ७४ दरबन्दी कटौती गर्ने क्रममा लेखातर्फ असईका २७ दरबन्दी कटौती गरिएको छ । यसैगरी, स्वास्थ्यतर्फ ३ असई, सञ्चार तथा इन्जिनियरिङतर्फ ८ हबल्दार, १ सय ३५ जवानको दरबन्दी कटौती गरिएको छ । यस्तै, कानुनतर्फ इन्स्पेक्टरको एउटा दरबन्दी कटौतीमा परेको छ ।
यसरी लाभान्वित हुन्छन् मध्यम तहका अधिकृत
सशस्त्र प्रहरीको सिसं १ को इन्स्पेक्टर ब्याच (२६ कात्तिक २०५९) का नौ जना नै अहिले कामु एसएसपी छन् । उनीहरूभन्दा पाँच महिनापछि ७ चैत २०५९ मा भर्ना भएकाहरूमध्ये १० जना अहिले कामु एसएसपी र अरू एसपी छन् । सिसं २ भन्दा पाँच महिनापछि २९ साउन २०६० मा भर्ना भएका सिसं ३ का अधिकृत अहिले सबै जना डीएसपी छन् । यो सांगठनिक परिमार्जित संरचनाले अब सो ब्याचका २५ भन्दा बढी एसपी बन्नेछन् । सिसं ३ मा ९६ जना पास आउट भए पनि अहिले ९० जना कार्यरत छन् । उनीहरू सेवामा प्रवेश गरेको नै १८ वर्ष पुगिसकेको छ ।
हाल सशस्त्रमा सिसं ५ सम्मका इन्स्पेक्टर डीएसपी भइसकेका छन् । सिसं ४ मा ९७ र सिसं ५ मा ८९ जना सेवा प्रवेश गरेका थिए ।
परिमार्जित संरचनाका कारण अब सिसं ६ का सबै जना डीएसपी हुनेछन् । २१ फागुुन २०६२ मा उनीहरू सशस्त्र प्रहरीमा भर्ना भएका थिए । सिसं ६ मा १ सय १ जना सेवा प्रवेश गरेको भए पनि हाल साधारण समूह साधारण उपसमूहअन्तर्गत ८५ जना कार्यरत छन् । उनीहरूसँगै ६ असार २०६४ मा भर्ना भएका सिसं ७ का केही इन्स्पेक्टर पनि डीएसपी बन्नेछन् ।
सो ब्याचका १ सय ३१ जना छन् । अहिले दरबन्दी पुनर्संरचना नभएको भए सो ब्याचका कतिपय इन्स्पेक्टर २८ वर्षपछि मात्र डीएसपी बन्ने थिए । उनीहरू टिके एसपी पनि बन्ने थिएनन् । सशस्त्र प्रहरी नियमावलीमा अवकाश हुनेबेला एक तह बढुुवा हुन पाँच वर्ष पूरा भएको हुनुपर्नेछ । त्यसैले उनीहरूले यो सुविधा पनि पाउने थिएनन् ।
यस्तै, परिमार्जित पुनर्संरचनाअनुसार लेखा उपसमूहका हालका डीएसपी, इन्स्पेक्टर र सईको वृत्तिविकासमा सबैभन्दा धेरै मद्दत पुग्नेछ । लेखा उपसमूहमा तीन एसपी, १० डीएसपी र १० इन्स्पेक्टरको दरबन्दी थप गरिएको छ । लेखा उपसमूहका केही इन्स्पेक्टर १८ वर्षदेखि सोही पदमा कार्यरत छन् । लामो समयदेखि एउटै पदमा कार्यरत रहनुपर्दा लेखा उपसमूहका इन्स्पेक्टर पनि निराश बन्दै गएका थिए । यो समाचार राजधानी दैनिकमा रोशन श्रेष्ठले लेखेका छन् ।