काठमाडौं । रुपन्देही, नवलपरासी (पूर्व) र चितवनका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालीदहमा लु.३७ प १८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई साईकलसँग ठोक्किएर बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २५ वर्षीय मोहम्मद हुसेनको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका-१३ बस्ने २० वर्षीय मश्ररु अहमद र साइकल चालक भारत झम्टी घर भएका ३५ वर्षीय पल्तन प्रसाद मुराउ स्थानीय मेडिकल खुनगाईमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।
यसैगरी नवलपरासी (पूर्व)को कावासोती नगरपालिका-१६ हर्वासीमा लु.३५ प ६७९९ नम्बरको मोटरसाइकल र लु.४ त ५०५१ नम्बरको ट्याक्टर एक-आपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१५ बस्ने २८ वर्षीय विष्णु चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मध्यविन्दुमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार कावासोती नगरपालिका-१५ बस्ने ३२ वर्षीय धन बहादुर महतोको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी चितवनको खैरहनी नगरपालिका-९ स्थित सडकमा काँकडभिट्टाबाट नारायणगढतर्फ जाँदै गरेको ना.७ ख ४९८१ नम्बरको बसको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका पुरुषको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।